अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

बिहीबार न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहीबार दिउँसो  तीन बजे जहाज असन्तुलित हुँदै नदीमा खसेको भिडिओ अमेरिकी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

उक्त हेलिकप्टरमा तीन बालबालिकासहित ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको न्युयोर्क सिटीका मेयर एरिक एडम्सले बताएका छन्।

तीन बालबालिकाको शव नदीबाट निकालिएको छ। जहाजमा सवारहरू स्पेनिस रहेको र उनीहरू घुम्न आएको बताइएको छ।

न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टर दिउँसो ३ बजे डाउनटाउन हेलिपोर्टबाट उडेको थियो।

हेलिकप्टरले म्यानहट्टनको स्काइलाइन हुँदै उत्तरतर्फ उडान भरेको र त्यसपछि स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कने क्रममा दुर्घटना भएको थियो।

हेलिकप्टर उडेको १८ मिनेटभन्दा कम समयमा दुर्घटना भएको समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ।