दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बिच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासूस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको हो ।उत्तर कोरियाले गत हप्ता आफ्नै जासूसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो । यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ ।
उपग्रह स्थानिय समयअनुसार बिहान १०ः १९ मा प्रक्षेपण भएको लगभग चार मिनेट पछि कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । यसले सामान्य रुपमा काम गरिरहेको बताइएको हो । उच्च रिजोल्युसन इमेजरीका लागि दक्षिण कोरियाले अमेरिकी व्यावसायिक र सैन्य सम्पत्तिहरूमा भर परेको हुनाले उत्तर कोरियाको जानकारी संकलन गर्न स्वतन्त्र सैन्य स्याटेलाइट नेटवर्क स्थापना गर्न दबाब दिइरहेको छ । एक इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड उपग्रहको साथ सुरु गर्दै दक्षिण कोरियाले उत्तर कोरियालाई राम्रोसँग निगरानी गर्न सन् २०२५ सम्ममा थप चारवटा उपग्रहहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
यी उपग्रहहरूले पृथ्वीको सतहमा मौसमको प्रर्वाह नगरी डाटा संकलन गर्ने बताइएको छ । यो योजनाले दुई कोरियाबीच अन्तरिक्ष हतियारको दौडलाई चर्काउने कतिपयले विश्लेषण गरेका छन् । किनभने उत्तर कोरियाले नोभेम्बर २१ मा आफ्नो पहिलो जासुसी उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो र उसले यस वर्षको सुरुमा दुई असफल प्रयासहरू पछि छोटो अवधिमा थप प्रक्षेपण गर्ने वाचा समेत गरेको थयो ।
थर्ड पोल 