पेट्रोल ट्याङ्करमा विस्फोटः कम्तीमा ७० जनाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरी मध्य भागमा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । देशको आपतकालीन ब्यवस्थापन बिभागका अनुसार शनिबार नाइजर राज्यको सुलेजा क्षेत्र नजिकै विस्फोट भएको हो। जेनेरेटर प्रयोग गरेर एक ट्याङ्करबाट अर्को ट्रकमा पेट्रोल सार्न खोज्दा भएको बिष्फोटमा परी ती व्यक्तिहरू मारिएका हुन् ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका हुसेनी इसाले इन्धन ट्रान्सफरका कारण विस्फोट भएको बताए । त्यसपछि पेट्रोल ओसारपसार गर्ने र नजिकै उभिरहेका मानिसको मृत्यु भएको हो । उद्धार कार्य जारी रहेको इसाले बताए ।
नाइजरका गभर्नर मोहम्मद बागोले एक विज्ञप्तिमा भने, ‘राज्यको डिक्को क्षेत्रका धेरै बासिन्दाहरू पेट्रोल ट्याङ्करबाट इन्धन निकाल्ने प्रयास गर्दा ठूलो आगोमा फसेका थिए।’ बागोले अगाडी भने, ‘धेरै मानिस जलेर मरेका छन् । ट्याङ्करसँग त्यति नजिक नभएकाहरू घाइते भए पनि बाँचेको उनले बताए । उनले यो घटनालाई चिन्ताजनक, हृदयविदारक र दुर्भाग्यपूर्ण भएको बताए ।’
सिन्ह्वा समाचार एजेन्सीका अनुसार स्थानीय समाचारपत्र द नेसनले स्थानीय स्रोतलाई उद्धृत गर्दै यस घटनामा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ। नाइजरको राज्य सरकारले स्थानीय मानवीय एजेन्सीहरूलाई चुनौती सामना गर्न आह्वान गरेको छ। र यस क्षेत्रमा सामान्य स्थिति पुनर्स्थापित गर्नका लागि निर्देशन पनि दिएको छ । नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटहरू असामान्य छैनन्, प्रायः ठूलो हताहत र राष्ट्रव्यापी शोकको परिणामको रूपमा नै देखा पर्छन् ।
थर्ड पोल 