कोइला खानीमा बन्दुकधारीको आक्रमणमा परी ५ कामदारको मृत्यु

कोइला खानीमा बन्दुकधारीको आक्रमणमा परी ५ कामदारको मृत्यु

अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको को सामाङ्गन प्रान्तस्थित कोइला खानीमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात बन्दुकधारीहरूको आक्रमणमा परी मारिनेमा उक्त कोइला खानीमा कार्यरत ५ कामदार रहेको बताइएको छ । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका स्थानीय अधिकारीहरूका अनुसार उक्त घटना अफगानिस्तानको बाल्ख प्रान्तको सिमानामा रहेको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो ।

सरकार सञ्चालित बख्तार समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरुमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो । सबै मारिनेहरू जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ ।

उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ । पछिल्लो समय विश्व समुदाय अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानको बारेमा चिन्तित रहेको बताइएको छ ।