जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन सक्दैनन्–बाबुराम भट्टराई

जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन सक्दैनन्–बाबुराम भट्टराई


काठमाडौं, ३० वैशाख ।  स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

आज काठमाडौंको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा सहभागी हुन पुगेका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशंका भएको बताएका हुन् ।

‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार, त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’

नेता भट्टराईले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन नसक्ने बताए । ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन्’ उनले भने ।