विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ

विमानस्थलबाट गोलीसहित एक युवती पक्राउ

त्रिभुवन विमानस्थलबाट एक थान गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गोलीसहित तनहुँको भानु नगरपालिका–७ की, २७ वर्षीया सोबिता नेपालीलाई पक्राउ गरेको हो।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो। पक्राउ परेकी नेपाली आइतबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा चेकजाँच गर्ने क्रममा उनको ब्यागमा रहेको कालो रंगको मनिपर्सभित्र केएफ १३ ५=५६ लेखिएको गोली राउण्ड– १ (एक) फेला परेको प्रहरीको भनाइ छ। उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको एयरपोर्ट प्रहरीले जनाएको छ।