बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक छ : मन्त्री बस्नेत

बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक छ : मन्त्री बस्नेत


काठमाडौं । बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्स कार्यक्रममा सम्बोधन गर्दै उनले चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउनका लागि चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक रहेको बताएका हुन् ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा अध्ययनका लागि मात्र हरेक वर्ष ठूलो संख्यामा युवायुवती विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न सरकार गम्भिर हुनुपर्ने बताए । नेपालका मेडिकल कलेजहरु र स्वास्थ्य प्रतिष्ठानहरुमा अहिलेको क्षमता भन्दा बढी विद्यार्थीलाई एमविविएस र एमडी पढाउन सक्ने क्षमता भएको दावी गर्दै क्षमता हुदा हुदै पनि स्वदेशमा पढ्न नदिएर युवायुवतीलाई पढ्न कै लागि विदेश पठाउनु सही नभएको मन्त्री बस्नेतले बताए ।

उनले भने, ‘अब सरकारले चाडै चिकित्सा शिक्षा ऐन संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षाका सिट बढाउने छ । त्यसपछि चिकित्सा शिक्षा पढ्न विदेश जानेको संख्या घट्ने छ । ’ विदेशी विद्यार्थी समेत नेपाल आएर चिकित्सा शिक्षा पढ्न चाहिरहेको अवस्थामा आफ्ना विद्यार्थीलाई पढ्न कै लागि विदेश पठाउनु स्वभावित नभएको मन्त्री बस्नेतको तर्क छ ।

उनले १०० बेडदेखि ३०० बेडसम्मका अस्पतालमा नर्सको पढाई गर्ने र ३०० बेड भन्दा माथिका अस्पतालमा एमविविएसको पढाई गर्ने गरि व्यवस्था मिलाउन सकिने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव पास गरेको बताउदै मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुले प्रस्तावलाई सकारात्मक लिएको बताएका छन् ।