चुनावी भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

चुनावी भागवण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक भोलि डाकिएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन बिहीबार बिहान साढे १० बजे बैठक डाकिएको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले भने,'बैठकमा स्थानीय निर्वाचनमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल हुनेछ । कांग्रेसले आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । सोही आधारमा छलफल हुन्छ ।' गठबन्धन बैठक बालुवाटारमा बस्नेछ ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । साथै उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन् । 

बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताए ।