गोली लागेर महिला सैनिक जवानको मृत्यु
कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज बिहान मृत्यु भएको छ । झापा गौरादह घर भएकी सैनिक जवान २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
गोरुसिंगेस्थित ब्यारेकमा ड्युटीमा रहेकी राजवंशीले आफैले बोकेको एम सिक्स्टीन राइफलले आफैंलाई पेटमा गोली हानेर घाइते भएको पनि प्रहरीले बताएको छ । पेट र छातिमा दुई वटा गोली लागेर घाइते भएकी उनलाई उपचारका लागि बुटवल लगिएकोमा त्यहाँबाट भैरहवा मेडिकल कलेज पठाइएको थियो । सोही मेडिकल कलेजमा उनको बिहिबार बिहान मृत्यु भएको हो ।
उपचारका लागि बिहिबार राति नै काठमाडौं लाने तयारी गरिएपनि हेलिकप्टर उपलब्ध नहुँदा काठमाडौं लैजान नसकिएको जनाइएको छ ।