शान्ति सेनामाथि इजरायली आक्रमण पूर्णतया अस्वीकार्य : युरोपेली संघ

शान्ति सेनामाथि इजरायली आक्रमण पूर्णतया अस्वीकार्य : युरोपेली संघ

काठमाडौं । युरोपेली संघ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् ।

‘इयूका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्, ‘बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।’

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तीमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।

इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ । ‘धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्, ‘बोरेलले भने, ‘उनीहरूको काम धेरै महत्त्वपूर्ण छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हिजबुल्लाहले शान्ति सैनिकलाई ‘मानव ढालको’ रूपमा प्रयोग गरेको बताउँदै दक्षिण लेबनानमा तैनाथ शान्ति सैनिकहरूलाई ‘खतराको बाटोबाट’ हटाउन आह्वान गरेका थिए । युनिफिलले आफ्ना स्थानहरू छाड्न अस्वीकार गरेको छ ।