आइसीसी महिला टि २० विश्वकपः नेपाल सेमिफाइननलमा प्रवेश

आइसीसी महिला टि २० विश्वकपः नेपाल सेमिफाइननलमा प्रवेश

काठमाडौ, १८ भदौ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै सेमिफाइनलमा पुगेको छ ।मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो ।

समूह ए बाट एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्ने क्रममा नेपालले जितको लागि पाएको ७५ रनको सामान्य१० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन । उनले २८ बलमा ४ चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन तथा सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनको योगफल बनाएको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । त्यस्तै एलिना खानले १५, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयशाले १० रन बनाइन ।

नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ।