एउटै वडामा उपमेयरमा चार महिलाले दिए उम्मेदवारी

एउटै वडामा उपमेयरमा चार महिलाले दिए उम्मेदवारी

म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाका चार महिलाले उपमेयर पदमा उम्मेदवारी दिएका छन्। नगरपालिकाको वडा नं. ६ का अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँले उपमेयर पदमा उम्मेदवारी दिएका हुन्। अमृतदेवीले नेपाली कांग्रेसबाट, पशुपतिले नेकपा एमालेबाट, ज्योतिले नेकपा माओवादी केन्द्रबाट र मुनाले नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन्। 

कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन्। २०५४ मा वडा नम्बर ९ अर्थुंगेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनी कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भएकी छिन्। 

एमालेकी उम्मेदवार पशुपति पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघको  जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन्। गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत संघसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छिन्।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी ज्योति पार्टीको प्रदेश कमिटी सदस्य हुन्। उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन्। २०६० सालदेखि  राजनीतिमा सक्रिय उनी यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएकी हुन्।  एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुन्। २०४८ सालदेखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिइन्।