गठबन्धन सरकारको काम गर्ने क्षमता र दक्षता छैन : ओली

गठबन्धन सरकारको काम गर्ने क्षमता र दक्षता छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा आज दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले क्षमता र दक्षता दुबै नभएका कारण आफ्नो सरकारको पालामा अघि बढाइएका विकासे आयोजना समेत कटौती गरेको आरोप लगाएका हुन् ।

उनले आफू नेतृत्वको सरकारले ग्रामीण भेगको विकासका लागि दुई सय १० वटा सडक शिलान्यास गरेपनि वर्तमान सरकारको काम गर्ने क्षमता नहुँदा कटौती भएको उनको आरोप छ । निर्वाचनपछि एमालेले अहिलेको सरकारले काटेका विकासे योजनालाई अघि बढाएर स्थानीय तहका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्ने उनले आश्वासन दिए ।

अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा देशभर खरका छानामुक्त अभियान ल्याएको पनि बताए । सो क्रममा दैलेखमा पनि धेरै नागरिकका घर खरका छानामुक्त भएर जस्तापाता लगाएको उनको भनाइ थियो । अध्यक्ष ओलीले अहिले पनि केही व्यक्ति अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे ।