गठबन्धनलाई स्थानीय चुनावमा पत्तासाफ हुनेगरी धूलो चटाइन्छ: ओली

गठबन्धनलाई स्थानीय चुनावमा पत्तासाफ हुनेगरी धूलो चटाइन्छ:  ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई परास्त गरेर छाड्ने दावी गरेका छन्।  शुक्रबार लमजुङ सदरमुकाम बेसीसहरमा आयोजित नेकपा एमालेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले परमादेशबाट आएको गठबन्धनलाई परास्त पार्न एमाले काफी भएको बताए । 

'हामी झ्यालबाट हैन, जस्केलाबाट बाट हैन, भेन्टिलेटरबाट हैन, परमादेशबाट हैन, जनताबाट चुनिएर फेरि पाँच वर्ष सरकार चलाउने गरी आउँछौं, 'ओलीले भने । खाउँला ,पाउँला भनेर हैन, देशका निम्ति केही गरौंला, सम्वृद्ध नेपाल र सुखी नेपाली बनाउन नेकपा एमाले अघि बढिरहेको ओलीले बताए । नेकपा एमाले एकढिक्का र एक नीतिका साथ अघि बढेको उनको भनाइ छ।

निर्वाचन भन्ने वित्तिकै गठबन्धनको सातो गएको उनले बताए । एमाले फुटेपनि एक्लै लड्न सकिन्न भनेर कांग्रेसका ठूला नेताहरुले नै भन्ने गरेको उनले बताए।  उनले एमाले नफुटेको बरु केही चोइटिएको बताए । 'काँडो बिजेजस्तो भएको थियो, आज काँडो झिकेजस्तो भएको छ । पिलो आएजस्तो भएको थियो, पिलो निचोरिएको जस्तो भएको छ । संगठन झन गतिशिल बनेको छ, ओलीले भने ।

निर्वाचन भाँड्न खोज्ने पाँच दलीय गठबन्धनका कारण स्थानीय निर्वाचन ढिलो भएको उनले औंल्याए । कानुन बमोजिम दुई महिनाअघि नै स्थानीय तहको निर्वाचन भइसक्नु पर्ने उनले बताए । सत्ता गठबन्धनलाई घिसारेर निर्वाचनमा ल्याइएको र अब पत्तासाफ हुनेगरी धुलो चटाइने उनले बताए ।