मन्दिरको दान पेटिकामा 'क्यूआर कोड', आर्थिक अनियमितता हट्ने विश्वास

मन्दिरको दान पेटिकामा 'क्यूआर कोड', आर्थिक अनियमितता हट्ने विश्वास

सूचना र प्रविधिको तिव्र विकास र पहुँचका कारण अव मन्दिर,मस्जिद,चर्च,गुम्बा र देवालयजस्ता धार्मिक क्षेत्रहरुमा पनि डिजिटल प्रविधिको प्रयोग गर्न थालिएको छ। डिजिटल प्रविधिको प्रयोगले धार्मिक क्षेत्रमा हुने आर्थिक अनियमितता रोकिने र सर्वसाधारणलाई पनि सहज हुने भएकोले यस्तो प्रविधि प्रयोगमा ल्याउन थालिएको हो। यसै क्रममा  म्याग्दीका धार्मिक संस्थामा दान तथा भेटी हाल्न क्यूआर कोडको अवधारणा ल्याइएको छ।

माछापुच्छ्रे बैंकले संकलित भेटी र दक्षिणालाई डिजिटल प्रविधिमार्फत व्यवस्थापन गर्न तथा अत्याधुनिक बैंकिङ सेवाका प्रयोगकर्तालाई सहज हुने गरी क्यूआर कोड राखेको हो। नगदरहित कारोबारलाई प्रोत्साहन गर्न प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर,महारानीथान मन्दिर, बेनी शिवालय मन्दिर, दुर्गा भगवती मन्दिरमा मोवाइलबाट दान गर्न मिल्ने सुविधा राखिएको शाखा प्रबन्धक यादव आचार्यले बताए।

‘मन्दिरमा दान र भेटी संकलन सहज बनाएको छ,घुम्न आउने र दर्शनका लागि जानेलाई सिधै बैंक खातामा सहयोग गर्न सकिन्छ’, शाखा प्रबन्धक आचार्यले बताए। गलेश्वरसहित तीन धार्मिक स्थलको विभिन्न स्थानमा क्यूआर कोड मार्फत दान पेटिकामा सहयोग गर्न मिल्ने गरी राखिएको छ। तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीले समेत क्यूआर कोडको प्रयोग गरी टिकट लिने सुविधा मिलाइएको छ।

क्यूआर कोड राखिएको संस्थाको माछापुच्छ्रे बैंकमा खाता रहेकाले सिधै जम्मा हुने भएकाले भक्तजनलाई समेत रसिद दिनुपर्ने झन्झट हटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए। यता डिजिटल दान पेटिकाको क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले दान गर्न सहज भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका (टिका) गुरुङले बताइन्।