घट्न थाल्यो ट्रेजरी बिलको ब्याजदर

घट्न थाल्यो ट्रेजरी बिलको ब्याजदर


काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त लगानीयोग्य रकम थुप्रियको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह लगभग ठप्प नै जस्तो छ । तथापि, बैंकहरुले निक्षेप खोसाखोस गरिरहेका छन् । यसले कर्जाको ब्याजदर बढेको छ । कर्जाको परिचालन नहुँदा अर्थतन्त्र मन्दीमा छ । आयात घटेको छ भने त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको छ ।

यो अवस्थामा केन्द्रीय बैंकले भने धमाधम आन्तरिक ऋणलाई नवीकरण गर्दै आएको छ । बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ ।

सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।सोमबार केन्द्रीय बैंले कुल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको छ ।

त्यसमध्ये २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको औसत ब्याजदर १.७५ प्रतिशत कायम भएको छ । त्यस्तै, १८२ दिन अवधिको ६ अर्ब ट्रेजरीको औसत ब्याजदर ३.८७ प्रतिशत र एक वर्ष अवधिको ७ अर्ब ५० करोडको ट्रेजरीको ४.६२ प्रतिशत निर्धारण भएको छ । सबै ट्रेजरी बिलको औसत ब्याजदर गत साताको तुलनामा घटेका छन् ।

पछिल्लो समय अन्तरबैंक ब्याजदर घट्दो क्रममा रहेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर १.९४ प्रतिशत छ । अल्पकालीन ब्याजदर घट्दा सरकारले भने सस्तोमा आन्तरिक ऋण उठाइरहेको छ ।