बुद्धकृष्णले नवौं पटक जिब्रो छेडे

बुद्धकृष्णले नवौं पटक जिब्रो छेडे

भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय बुद्धकृष्ण वागश्रेष्ठले नवौँ पटक जिब्रो छेडेका छन् । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्चमा बुद्धकृष्णको जिब्रो छेडिएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक उहाले यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडे भने उनको आमाको निधनपछि बोडेको जुजुभाई बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेडे। पछिल्ला बर्षमा पुनः जिब्रो छेडेका बुद्धकृष्णले यस वर्ष नवौँ पटक जिब्रो छेडेका हुन् ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।