दुई करोड नाघ्यो वालेट मार्फत कारोबार गर्नेको संख्या

दुई करोड नाघ्यो वालेट मार्फत कारोबार गर्नेको संख्या


काठमाडौं । नेपालमा भुक्तानी सेवा प्रदायक वालेट मार्फत कारोबार गर्नेको संख्या दुई करोड नाघेको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असोजको मासिक भुक्तानी प्रणाली सूचकमा वालेट मार्फत कारोबार गर्नेको संख्या २ करोड २ लाख ७६ हजार १६१ पुगेको देखिन्छ।

नेपालमा एक वर्षको अवधिमा वालेट प्रयोगकर्ताको संख्या ३६.६३ प्रतिशत अर्थात ५४ लाख ३६ हजार ८८१ ले बढेको छ। गत वर्ष २०७९ असोजमा वालेट प्रयोगकर्ता १ करोड ४८ लाख ३९ हजार ८२० रहेका थिए।गत भदौंमा वालेटका प्रयोगकर्ता १ करोड ९९ लाख २२ हजार ४४३ रहेका थिए।

वालेट प्रयोगकर्ताको संख्या बढेसँगै वालेट मार्फत हुने कारोबार र रकम दुबै बढेको छ। २०८० असोजमा वालेट मार्फत २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी र २ करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको छ।गत वर्ष २०७९ असोजमा वालेट मार्फत १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी र १ करोड ५७ लाख ३ हजार ४२ पटक कारोबार भएको थियो।