दसैँमा गाउँ नै रमाइलोः रातोमाटो र कमेरोले रङ्गिएका घर, लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द 

दसैँमा गाउँ नै रमाइलोः रातोमाटो र कमेरोले रङ्गिएका घर, लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द 

काठमाडौं  । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि बस्ती गुञ्जायमान हुन्छन् । अन्नपूर्ण अघिपछि गाउँघरमा उतिसारो युवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । 

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ ।