स्याङ्जाको वालिङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

स्याङ्जाको वालिङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा घाइते भएका वालिङ-१२ डाँडाखर्कका अंगबहादुर डालाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। अन्य घाइते २ जनाको अवस्था सामान्य र ३ जनाको चिन्ताजनक अवस्था रहेको प्रहरी कार्यालय वालिङले जनाएको छ। उनीहरूको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा आइतबार स्थानीय ६५ वर्षीय वीरबहादुर डाला, ४५ वर्षीय हिरा डाला, २५ वर्षीया शर्मिला सारु तथा उनका ६ महिनाका छोराका र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको थियो। डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप आइतबार बिहान वालिङ नगरपालिका-१२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना भएको थियो। जिप ग्रामीण कच्ची सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै एउटै गाउँका रहेका प्रहरीले जनाएको छ। एकै गाउँका ५ जना घाइते र ६ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।