उम्मेदवारी फिर्ता गराउन धम्की नदेउ: निर्वाचन आयोग

उम्मेदवारी फिर्ता गराउन धम्की नदेउ: निर्वाचन आयोग

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई मनोनयन फिर्ता लिन धम्की नदिन दलहरूको ध्यानाकर्षण गराएको छ। आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचना प्राप्त भएको भन्दै ध्यानाकर्षण गराएको हो। यस्ता व्यवहारले संवैधानिक एवं कानूनी अधिकार कुण्ठित हुन जाने भन्दै आयोगले यस्ता हर्कत नगर्न आग्रह गरेको छ। 

‘आफूलाई उम्मेदवारी फिर्ता लिन इच्छा लागेमा राजीखुशीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था छ। आयोगले विज्ञप्तिमा लेखेको छ, ‘त्यसैगरी कुनै दलको तर्फबाट मनोनयन पत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा पठाए पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको हुँदा सो बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ।’

विशेषगरी सत्ता गठबन्धनमा बढ्दो असन्तुष्टिका कारण धेरै ठाउँमा शीर्ष नेताका सहमति विपरीत उम्मेदवारी परेपछि नेताहरु फिर्ता गराउन दौडधुपमा रहेका छन्। आयोगको कार्यतालिका अनुसार आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिनेछ।