चितवन पुगेर प्रचण्डले गरे कुलमानको कामको प्रसंशा

चितवन पुगेर प्रचण्डले गरे कुलमानको कामको प्रसंशा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको प्रशंसा गरेका छन्। लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।

चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड भने, ‘लोडसेडिङमुक्त मात्रै होइन, अब विद्युत निर्यात गर्ने ठाउँसम्म पुगेका छौँ।’  इमान्दारिताका साथ काम गरे देश विकास हुन समय नलाग्ने उनको भनाई छ। सो कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ पनि उपस्थित थिए । सोही समारोहमा अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री भुसाल र महानिर्देशक घिसिङको तारिफमा समय खर्चिए ।

उनले विद्युत प्राधिकरणमा घिसिङलाई ल्याउन गरेको निर्णयमा पनि गर्व लागेको बताए । ‘हामीले लिएको निर्णयप्रति पनि गर्व गर्दछु । यो क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद,’ उनले भने । सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले चितवन जिल्लालाई विकासको मोडलको रूपमा निर्माण गर्न चाहेको बताए ।