उपत्यकाको चोक–चोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन सकेन

उपत्यकाको चोक–चोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन सकेन

काठमाण्डौ उपत्यकाको चोक–चोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन एक हप्ता लाग्ने भएको छ । चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गएको फागुनमा २३ दिन विभिन्न बहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरूपमा व्यवस्थापनको काम हुँदा पनि एक हप्ता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गइन ।  

‘घरबाट फोहर बाहिर निकाल्दैमा फोहरको व्यवस्थापन हुँदैन, सडकमा जथाभाबी फोहर हुनु भनेको पनि थप समस्या हुनु हो’, प्रमुख राईले नागरिकलाई आग्रह गर्दै भनिन्, ‘फोहरको गाडी लिन आएपछि मात्रै घरबाट फोहर निकालेर व्यस्थापन गर्नु सहज हुन्छ ।’ फोहर व्यवस्थापन गरिँदै आएको ठाउँ सिसडोलका स्थानीयवासीले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन । 

त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयवासीले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयवासीलाई निःशुल्क उपचार गराउनुपर्ने जस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ ।