बाढी, पहिरो र डुबानबाट २१ जिल्ला प्रभावित, स्वास्थ्य जोखिम उच्च, के हुँदैछ रोकथामको प्रयास

बाढी, पहिरो र डुबानबाट २१ जिल्ला प्रभावित, स्वास्थ्य जोखिम उच्च, के हुँदैछ रोकथामको प्रयास

काठमाडौं । असोज दोस्रो साताको अविरल वर्षा र त्यसले निम्त्याएका बाढी, पहिरो र डुबानबाट पूर्वी र मध्य नेपालका २१ जिल्ला प्रभावित भए । जसबाट ५० हजार मानिस प्रत्यक्ष र नराम्ररी प्रभावित भएको विभिन्न निकायको तथ्यांकले देखाउँछ ।

बाढी, पहिरो र डुबान परेका क्षेत्रमा विभिन्न रोगको जोखिम रहेको चेतावनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ । विशेषगरी खानेपानीको शुद्धताको कमीले गर्दा प्रभावित क्षेत्रमा महामारीको जोखिम बढ्दै गएको हो । ती स्थानमा राम्रो व्यवस्थापन हुन नसके विभिन्न रोग फैलिन सक्ने विज्ञहरूले औँल्याएका छन् ।

विस्थापित सयौँ मानिसहरू बस्ने आश्रय स्थलमा खास गरी पानीजन्य रोगको जोखिम बढी छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरसफाइको अभाव र खानेपानीमा हुने प्रदूषणका कारण विभिन्न खालका रोग फैलिने खतरा रहेको हो । मन्त्रालयले झाडापखाला, टाइफाइड र हैजाजस्ता रोगले प्रकोपकै स्वरूप लिन सक्ने भन्दै सर्वसाधारणलाई सजग हुन आग्रह गरेको छ ।

वर्षा वा डुबानपछि खाल्डाखुल्डीमा पानी जम्ने भएकाले लामखुट्टेको वृद्धि विकास हुन सजिलो हुने हुँदा डेंगुको संक्रमण फैलिनेतर्फ पनि सचेत हुन मन्त्रालयले आग्रह गरेको छ । ‘बाढी, पहिरो र डुबानपछि खानेपानीको मुहान प्रदूषित हुने भएकाले पानी जन्य रोगहरूको जोखिम बढी छ । हैजा, झाडापखाला, डेंगु, टाइफाइड, औलो, जापनिज इन्सेफ्लाइटिको जोखिम पनि छ । सरसफाइमा कमजोरी भएर छालाजन्य र श्वासप्रश्वास जन्य रोगहरूको जोखिम रहेको छ’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी भन्छन्, ‘खाल्टाखुल्टीमा पानी जमेपछि लेप्टोस्पाइरोसिसको संक्रमण बढ्ने जोखिम पनि छ ।’

दीर्घ रोगीलाई खानपिन र मानसिक चिन्ताले स्वास्थ्यमा थप जटिलता थप्ने हुनु सक्छ । विस्थापित अवस्थामा बस्दा शरीरले पर्याप्त मात्रामा पोषणयुक्त खानेकुरा नपाइरहेको र प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा सानै सङ्क्रमणले समेत रोग लगाउने र जटिलता सिर्जना गर्ने डर रहने गर्छ ।

देशका विभिन्न स्थानमा भण्डारण गरेको औषधि प्रभावित क्षेत्रमा पु¥याइएको छ । जोखिममा परेका मानिसमध्ये सात हजार दीर्घ रोगी भएका र उनीहरूलाई तत्काल नियमित औषधि पु¥याउनुपर्ने अवस्थामा रहेको छ । प्रभावित क्षेत्रमा सुरुमा हेलिकप्टरबाट र अहिले स्थलमार्गबाट औषधि पु¥याइएको छ । प्रभावित झन्डै एक सय स्थानीय तहमा एकद्वार प्रणालीबाट प्रतिकार्यका गतिविधि अगाडि बढाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तत्कालका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत औषधि वितरण गरिएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । बिमामार्फत औषधि सेवन गरिरहेकाहरूलाई पनि खुला गरिदिनका लागि मन्त्रालयले आग्रह गरेको छ ।कुनै समस्या भए १११५ हटलाइनमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

समन्वयमा सेवा प्रवाह
बाढी, पहिरो र डुबानबाट ५७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । बाढी, पहिरो र डुबानबाट ५२ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको छ । ५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा क्षति भएका छन् ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ललितपुर, भक्तपुर‚ पर्सा, चितवन जिल्लामा रहेका स्वास्थ्य संस्थामा क्षति पुगेको हो । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको थियो ।

जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरणहरू र स्वास्थ्यकर्मीहरूको व्यवस्थापनका लागि स्थानीय, जिल्ला स्वास्थ्य कार्यालयहरू र प्रदेशका सम्बन्धित निकायहरू मार्फत स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाढी पहिरो पछिको अवस्थालाई मध्यनजर गरी प्रभावित स्थानमा खानेपानीको अवस्थाको निगरानी गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालिन व्यवस्थापन इकाई प्रमुख डा. प्रकाश बुढाथोकीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको छ । समितिमा खानेपानी मन्त्रालय, स्वास्थ्य सेवा विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरू सहभागी छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ । ‘सुरुमा हेलिकप्टरबाट औषधि पु¥यायौँ, पछि गाडीबाट पठाएको छ’, उनले भने, ‘अहिलेसम्म कुनै रोकको संक्रमण भएको जानकारीमा आएको छैन ।’

ललितपुरमा केही स्वास्थ्य संस्थामा क्षति भएको छ । विभिन्न निकायसँग समन्वय गरेर काम भएको उनको भनाइ छ । विद्युत्को आपूर्ति नियमित नहुँदा खोप व्यवस्थापनमा केही समस्या भएको उनले बताए ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेका अनुसार बाटो, विद्युत् र खानेपानी प्रमुख समस्याका रूपमा रहेका छन् । बाटो नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥यानै कठिन भएको उनले बताए ।

‘ओल्लो टोलबाट पल्लो टोल र एउटा गाउँबाट अर्को गाउँमा जानका लागि गोरेको बाटो पनि छैन’, उनले भने, ‘मनै तीन ठाउँ लडेर घाइते भएको छु ।’ सुत्केरीलाई अस्पताल लैजानका लागि हेलिकप्टर सम्म बस्ने ठाउँको अभाव भएको उनको भनाइ छ । सबैको सहयोगबाट बाटो खुलाउनका लागि पहल भए पनि दसैँअघि बाटो खुलाउन सक्ने अवस्था नरहेको उनले बताए ।

शुद्ध पानी प्रमुख चुनौती
खानेपानी शुद्धीकरण गरेर वा उमालेर पिउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ । खानेपानी शुद्धीकरणका लागि खानेपानी मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

यता खानेपानी मन्त्रालयले बाढी, पहिरो र डुबानले खानेपानी आयोजनाहरूमा क्षति पुग्दा खानेपानी उपलब्ध गराउन चुनौती रहेको जनाएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार क्लोरिन हालेर वा फिल्टर गरेर तत्काल शुद्ध खानेपानी सेवाका लागि समन्वय भइरहेको छ । ‘शुद्ध खानेपानी पु¥याउनका लागि मन्त्रालयको तर्फबाट पहल भइ रहेको छ । मिनिरल वाटर, जार, ट्याङ्कबाट पानी पु¥याउने प्रयास भएको छ’, उनले भने ।

विभिन्न सञ्चार माध्यमबाट शुद्ध पानी पिउनका लागि चेतना जगाउने काम पनि गरिरहेको उनले बताए । ‘तीनै तहका निकायबीच समन्वय गरेर काम गर्नुपर्ने स्थिति छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन समितिले पनि काम गर्ने गरेको छ ।’

दुवाडीका अनुसार पानी परीक्षणका लागि मोबाइल भ्यानको प्रयोग गर्ने गरिएको छ ।

सयौँ खानेपानी संरचनामा क्षति
बाढी, पहिरो र डुबानले सयौँ खानेपानी संरचनामा क्षति पु¥याँउदा साढे तीन अर्ब बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा अहिले पनि क्षतिको तथ्याङ्क सङ्कलन गर्ने क्रम जारी छ । विभागका अनुसार ५ सय १७ खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ ।

काभ्रे, भक्तपुर र रामेछापमा अन्य जिल्लाको तुलनामा उल्लेखनीय क्षति भएको छ । खानेपानी आयोजनामा बोरिङ, पाइपलाइन देखि ट्रान्सफर्मर, ईलेक्ट्रोमेकानिकल कम्पोनेन्टमा समेत क्षति भएको छ । सम्प वेल, इन्टेक, पाइपलाइन, टंकी लगायतका संरचनामा बाढीका कारण क्षति पुगेको हो ।

सहसचिव दुवाडीका अनुसार ठूलो क्षति भएका स्थानमा मर्मत सम्भारका लागि चार÷पाँच महिना नै समय लाग्न सक्छ । अहिले जनशक्ति र बजेटको अभाव रहेको मन्त्रालयले जनाएको छ ।

प्रकोपग्रस्त क्षेत्रमा स्वास्थ्य जोखिम
विस्थापित सयौँ मानिसहरू बस्ने आश्रय स्थलमा खास गरी पानीजन्य रोगको जोखिम रहेको र ती स्थानमा राम्रो व्यवस्थापन हुन नसके विभिन्न रोग फैलिन सक्ने विज्ञहरूले औँल्याएका छन् । नियमित जीवनचर्या खलबलिएको, स्वस्थ खानपिनको अभाव,

‘प्रभावितहरूको नियमित जीवनचर्या सबै भत्किएको हुन्छ । अरूले दिएको खाना खानुपर्छ । त्यो अस्वस्थकर भयो भने त्यसले बिरामी बनाउँछ । झाडापखाला लाग्न सक्छ । फुड प्वाइजिनिङ हुन सक्छ । ज्वरो पनि आउन सक्छ’, इपिडिमिओलजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘प्रदूषित खानेपानीका कारण टाइफाइड, जन्डिस, आउँ जस्ता रोगहरू फैलिने सम्भावना हुन्छ ।’

सानो ठाउँमा धेरै जना कोचाकोच गरेर बस्नुपर्ने वा सुत्नुपर्ने अवस्था भए स्वासप्रस्वासबाट सर्ने रोगहरू रुघाखोकी लाग्न सक्छ । गर्मीबाट जाडो लाग्ने सिजन भएकाले पनि स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुपर्ने डा. मरासिनीको सुझाव छ ।

‘बाढीको पानीमा हिँड्दा लेप्टोस्पाइरा जातिको जीवाणुको सङ्क्रमणबाट लाग्ने लेप्टोस्पाइरोसिस हुन सक्छ । मुसाको पिसाब, गाईभैंसीको मलमूत्र वा श्रावको संसर्ग वा सम्पर्कमा आउने कुनै पनि व्यक्तिमा यो संक्रमण हुन सक्छ । रोग फैलिन सक्ने सम्भावना रहन्छ’, उनले भने, ‘बाढीले पानी जम्मा भएको छ । डेंगु पनि फैलिन सक्छ ।’ विषादीयुक्त झुल, सुरक्षित खाना र शुद्ध खानेपानीको व्यवस्था गर्न उनको सुझाव छ ।

पहिलेको तुलनामा अहिले विभिन्न निकायबिच समन्वयको अभाव भएको उनको भनाइ छ । ‘मर्यादा क्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भन्दा मेयर माथि राखिएको छ । यसले सिडिओलाई काम संयोजन गर्न त्यति सहज भएको पाइँदैन’, उनले भने, ‘अहिले संरचना नै बिगारेका छन् । स्थानीय सरकारले न प्रहरी खटाउन सक्छ, न आर्मीलाई खटाउन सक्छ ।’