बालेनलाई लौरो, जगन्नाथलाई भुइँकटहर

बालेनलाई लौरो, जगन्नाथलाई भुइँकटहर

काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले 'लौरो' चुनाव चिन्ह पाएका छन्।  चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले 'लौरो' चुनाव चिन्ह पाएका हुन्। 

उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

त्यसैगरी भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह 'भुइँकटहर' पाएका छन्। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चुनाव चिन्ह वितरण गरेको हो।

मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए। तर उनीहरूले पौडेललाई फकाउन सकेनन्। 

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले नमानेपछि उनलाई पार्टीबाट निष्कासन गरिएको थियो। त्यसैले अबको निर्वाचनमा पौडेलले भुइँकटहर चुनाव चिन्हबाट चुनाव लड्नेछन्।