भारतमा कोरोनाको चौथो लहरको संकेत, नेपालमा बढ्यो चिन्ता

भारतमा कोरोनाको चौथो लहरको संकेत,  नेपालमा बढ्यो चिन्ता

भारतमा कोरोना महामारीको चौथो लहरको संकेत देखिन थालेको छ। त्यहाँ एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ। पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन्। अघिल्लो दिन थपिनेको संख्या १ हजार १ सय ५० थियो। त्यसैगरी पछिल्लो २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन्। उत्तर प्रदेशका केही सहरमा मास्क पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ।भारतमा गत डिसेम्बरमा कोरोनाको तेस्रो लहर फैलिएको थियो। स्थिति सामान्य भएको दुई महिना नबित्दै फेरि संक्रमितको संख्या ह्वात्तै बढेको छ। दिल्ली, हरियाणा, उत्तर प्रदेश, केरला, महाराष्ट्र र मिजोरममा संक्रमितको संख्या तीव्र रूपमा बढ्न थालेको छ।

भारतमा संक्रमित बढेपछि त्यसको असर यता पनि पर्छ नै। विगतका लहरमा पनि यस्तो देखिएको छ। उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सघन सम्पर्क छ। मुम्बई र काठमाडौंबीच पनि सिधा उडान सुरु भइसकेको छ।  नेपाल एयरलाइन्सले मुम्बईका लागि सातामा ३ वटा उडान गर्छ। २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौं दैनिक ६ वटा उडान भइरहेको छ। काठमाडौं आउँदाजाँदा दुवैतिर अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने प्रावधान हटाइएको छ। खोप कार्ड देखाएर यात्रा गर्न पाइन्छ।

भारतमा बढ्दो संक्रमण दरबाट आफूहरू चिन्तित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्। अब सीमामा पहिलेजस्तै स्वास्थ्य परीक्षणमा कडाइ गर्ने तयारी सरकारको छ।