प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका 

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका 

प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ बजेर २५ मिनेटमा नयाँदिल्ली प्रस्थान गर्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री देउवाले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा प्रधानमन्त्रीसहित उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी ५० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवाले भोलि भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडू, विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।