माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाई हुँदै

माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाई हुँदै


काठमाडौं ।काठमाडौँको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।

सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका छन् भने वारेसमार्फत भद्रप्रसाद नेपालले दर्ता गराएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेजका साथै नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग गरिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत सोमबार काठमाडौँको पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत हुँदै नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड (क) र (ख) ले प्रत्येक नेपाली नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको रिट निवेदकको जिकिर छ ।