लेखनाथ महोत्सवको टिकट ईसेवाबाट काट्न सकिने

लेखनाथ महोत्सवको टिकट ईसेवाबाट काट्न सकिने

काठमाडौं । पोखराको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवमा घुम्न चाहनेले ईसेवाबाट नै टिकट काट्न सकिने भएको छ । लाइन बसेर टिकट लिनुपर्ने बाध्यता हटाउँदै घरबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको हो । समयको माग, दर्शकको भीड र सुरक्षालाई मध्यनजर गर्दै विशेषतः युवा विद्यार्थी वर्गलाई लक्षित गरी यसपटक ईसेवाबाट नै टिकट काट्ने व्यवस्था मिलाइएको टिकट व्यवस्थापन उप–समितिका संयोजक अर्जुन भण्डारीले बताए ।

‘यसपटक टिकटको भीडभाड कम गर्न महोत्सव परिसरमा ठाउँ–ठाउँमा ई–टिकटका लागि क्युआर कोड राख्ने तथा ई–टिकट काट्नेका लागि सहज तरिकाले प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । मोबाइलमा ईसेवाको एपबाट घरमै बसेर  टिकट लिन सकिन्छ,’ संयोजक भण्डारीले भने । यसबाहेक ईसेवाबाट टिकट काट्नेहरुमध्येबाट हरेक दिन एक जनालाई लक्की ड्रका आधारमा बञ्जी जम्प, प्याराग्लाइडिङ लगायतका अफरहरु समेत ल्याइएको र महोत्सवका हरेक स्टलमा भुक्तानीको लागि ईसेवाको क्युआर कोड राखिने ईसेवाका गण्डकी प्रदेश इञ्चार्ज विनोद बोहोरा क्षेत्रीले जानकारी दिए । 

महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैंयाँ र विद्यार्थीहरुका लागि परिचयपत्रको आधारमा ५० रुपैंयाँ, बेलुकाको लाइभ कन्सर्टका लागि टिकट शुल्क १ सय ५० रुपैंयाँ छ । ज्येष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ताको कार्डको आधारमा निःशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधन, कृषि तथा पशुजन्य वस्तु, विद्यालयस्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको आयोजकले जनाएको छ । 

यसबाट स्थानीय उत्पादनको बजारीकरण, प्रविधि तथा सीप हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले बताए । यही पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।