विभिन्‍न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ

विभिन्‍न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ


काठमाडौं, ११ जेठ । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ सय ग्रामसहित काठमाडौं कीर्तिपुर बस्ने ३२ वर्षीय विनायक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र ०२–०४० प.८०७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार श्रेष्ठलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंकै चन्द्रागिरी नगरपालिका–२ स्थित देउराली भञ्जाङबाट अवैध लागुऔषध गाँजा करिब ४ केजी ५ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–१ बस्ने २६ वर्षीय बिपिन मगरलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाराको निजगढ नगरपालिका–८ तामागेटस्थित सडकबाट अवैध लागुऔषध गाँजा १२ केजीसहित सोही नगरपालिका–३ सिंगौल टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले हेटौंडाबाट महोत्तरीतर्फ जाँदै गरेको ना.७ ख ६४६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित फेला परी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२० राझाँ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १४ ग्रामसहित सोही उपमहानगरपालिका–१४ उदयपुरुवा बस्ने २५ वर्षीय सिताराम लोनियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिका–२ फेदिगाउँ बस्ने ५५ वर्षीय सूर्य तामाङलाई अवैध लागुऔषध गाँजाको धुलो १८ केजी ४० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।