काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६ हजार ४७५ वटा सहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी सहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो । 

काठमाण्डौं उपत्यकाको पछिल्लो अपडेटअनुसार वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको छ । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । काठमाडौंको सहरी वायु प्रदूषणमा सवारी साधनको चाप नै मुख्य कारक रहेको वातावरणविदहरूले बताउँदै आएका छन् ।  इन्धनजन्य सवारी साधनबाट निस्कने कार्वन मनोअक्साइड, नाइट्रोजन मनोअक्साइडलगायत ग्यासले वायुको गुणस्तरलाई घटाइदिन्छन् र मानव स्वास्थ्यमा घातक असर पुर्याउनसक्छन् । 

वायु प्रदूषणकै कारण हुने विभिन्न रोगमध्ये २७ प्रतिशतमा निमोनिया, १८ प्रतिशतमा ह्रदयघात, २७ प्रतिशतमा अकस्मात देखिने मुटुरोग, २० प्रतिशतमा श्वासप्रश्वाससम्बधी रोग र ८ प्रतिशतमा फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको संगठनको तथ्यांक छ । 

काठमाडौं सहरको हकमा बिहान ८–९ बजेदेखि दिउँसो ३ बजेसम्मको वायु धेरै प्रदूषित हुने गरेको पाइएको छ । यो समयमा हावा कम चल्ने भएकाले पनि हावा धेरै प्रदूषित हुने र उच्च बिन्दुमा पुग्ने गरेको वातावरणविद् तुलाधार बताउँछन् । 

यो समयमा बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न अन्य सुरक्षाका उपाय अपनाउन तुलाधारको सुझाव छ । अक्सिजनको मात्रा कम र प्रदूषणजन्य ग्यासहरूको मात्रा धेरै भएको अवस्थालाई एन्टी–अक्सिजन पोलुसन भनिन्छ । यो अवस्थामा एन्टी–अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन सी र ई को मात्रालाई घटाइदिन्छ । छलारोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्ने भएकाले छाला स्वास्थ्यमा पनि सावधानी अपनाउनुपर्ने बताउँछिन् ।