सिन्धुलीमा कार दुर्घटना हुँदा चारभारतीय नागरिकको घटना स्थलमै मृत्यु, एक गम्भीर घाइते 

1.

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको जनाइएको छ।  गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक भारतीय कार  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।  

भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर करिब साढे १२ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका एक जनालाई अहिले काठमाडौं पठाउने तयारी भइरहेको समेत उनले बताए।  

चार मृतकपुरुषमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको छ।  राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको कारण शव निकाल्न कठिनाई भइरहेको छ।  उपरीक्षकले भने, 'त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ, कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।'