सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगायो, पाँच जनाको मृत्यु

सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगायो, पाँच जनाको मृत्यु

काठमाडौं । सोलुखुम्बुमा पहिरोले दुई वटा घर बगाउँदा पाँच जनाको ज्यान गएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि   उनीहरूको ज्यान गएको हो ।

 मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । 

 स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा ल्हामु, उनका छोरा फुर्वा र रीनाको मृत्यु भएको हो । सोही घटनामा ६२ वर्षीया याङजी शेर्पा घाइते भएकी छिन् । उनको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोले घर बगाउँदा सोलुदूकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको प्रहरीले  जानकारी दिएको छ । निरन्तर परेको वर्षाका कारण चैलुङका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको एकतले घर पहिरोले बगाउँदा कविता र रुपुको ज्यान गएको हो ।