अन्तिम प्रस्ताव लेखनको जिम्मा बादल एक्लैले लिन खोजेपछि एमाले कार्यदल बैठक स्थगित
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय गरिएको बैठक स्थगित भएको कार्यदलका एक नेताले जानकारी दिए।
आजको बैठकबाट दुवै प्रतिवेदनमाथि छलफल गरी प्रस्ताव ल्याउने कार्यसूची थियो। तर कार्यदल संयोजक रहेका पार्टी उपाध्यक्ष रामबहादुर थापा 'बादल' एक्लैले अन्तिम प्रस्ताव लेखनको जिम्मा लिन खोजेपछि बैठक नै स्थगित गरिएको ती सदस्यले जानकारी दिए।
'दुवै प्रतिवेदनलाई आधार बनाएर अन्तिम प्रस्ताव तयार पार्ने भन्ने थियो। संयोजकले अडान नछाड्दा बैठक नबस्ने भयो,' ती नेताले भने।
पार्टीका तल्ला कमिटीहरूबाट सुझाव संकलन गरी कार्यदल सदस्य सचिव एवम् पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा छलफल गरी प्रस्ताव ल्याउन काभ्रेको बल्थलीमा कार्यदलको बैठक बसेको थियो।
तर बल्थलीको बैठकमा उपाध्यक्ष थापाले आफै संयोजक रहेको कार्यदलको प्रतिवेदनको काउन्टरमा अर्को प्रतिवेदन पेस गरेका थिए।
थर्ड पोल 