बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डा सहितको पार्क निर्माण हुँदै
तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।
पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ।
पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ।
पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो।
पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ।
विशाल झण्डासहितको पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाइएको छ।
झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ।
हालसम्म १५ लाखभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए।



थर्ड पोल 