आशिका तामाङले 'अब तपाईंहरूको फोहोर रोकिन्छ' भन्दै बैठक छाडिन्
'बञ्चरेडाँडामा अब मिटिङ नहुञ्जेलसम्म तपाईंहरूको फोहोर रोकिन्छ!'
यो चेतावनी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङको हो।
धादिङ–१ बाट निर्वाचित सांसद तामाङले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल गर्न सहरी विकास मन्त्रालयले शुक्रबार डाकेको बैठकमा यस्तो चेतावनी दिएकी हुन्।
उपत्यकाका स्थानीय सरकारहरू यहाँको फोहोर थुपारिने बञ्चरेडाँडाका जनताले भोग्दै आएको समस्याप्रति गम्भीर नभएको भन्दै उनी आक्रोशित मुद्रामा प्रस्तुत भएकी थिइन्।
त्यसै क्रममा सबै स्थानीय तह प्रमुख बैठकमा सहभागी नभएको र सहभागी भएकामध्ये पनि कोही बीचैमा उठेर हिँडेको भन्दै उनी बारम्बार टेबल ठोक्दै, मेयरहरूतिर औंला तेर्स्याउँदै जंगिएकी थिइन्।
त्यसपछि 'काठमाडौंको फोहोर रोकिने' चेतावनी दिँदै उनी आफू पनि बैठक छाडेर हिँडिन्।
सांसद तामाङ त उठेर हिँडिन्, अनि त्यसपछि के भयो?
सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको उक्त बैठक त्यसपछि कसरी अघि बढ्यो?
सांसद आशिका तामाङ गइसकेपछि काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्षसमेत रहेका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बोलेका थिए।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले के भने?
ललितपुरका मेयर महर्जनले सांसद तामाङ उठेर हिँड्नेबित्तिकै भनेका थिए, 'मेरो १० वर्षको अनुभव छ, यहाँ धेरैको पाँच वर्षको अनुभव छ, तर उहाँको अनुभव छैन। त्यसैले उहाँले जे बोल्नुभयो, त्यसका लागि माफ गरिदिऊँ, हामी छलफल अघि बढाऊँ।'
उनले बैठकको अध्यक्षता गरेका मन्त्री तिमिल्सिनालाई सम्बोधन गर्दै भने, 'एउटा कुरा मैले मन्त्रीज्यूलाई भन्न चाहेँ— यो बैठक तपाईंको सभापतित्वमा हुँदै छ। हामी यहाँ मानमर्दन सहन आएका होइनौं।'
उनले यसो भन्दै गर्दा मन्त्री तिमिल्सिनाले बीचैमा केही बोल्न खोजे।
मेयर महर्जनले उनलाई रोक्दै अगाडि भने, 'एकछिन, मैले तपाईंबाट जबाफ खोजेको छैन, प्लिज रोक्नुहोस्। जबाफ पछि दिनुहोस्, अहिले होइन।'
'मैले यो बैठकको खबर हिजो अन्तिम समयमा मात्र पाएँ। तर म तपाईंको अध्यक्षतामा बैठक हुन्छ भनेर होइन, पूर्वाधार मन्त्रीको अध्यक्षतामा बैठक हुन्छ भनेर आएको हुँ। उहाँको उपस्थितिमा म ललितपुर महानगरपालिकाको मेयर र काठमाडौं भ्याली मेयर फोरमको पनि अध्यक्ष भएको नाताले र यो फोहोरको समस्या हाम्रो पनि ठूलो टाउको दुखाइ भएकाले नै यसलाई समाधान गर्नुपर्छ भनेर चारवटा मिटिङ रद्द गरेर म यहाँ आएको छु।'
'उहाँ माननीय (आशिका तामाङ) ले हामीलाई त्यस्तो गाली गर्न पाइन्छ? हु द हेल! त्यस्तो पनि हुन्छ? यस्तो बैठकमा सभापतित्व ग्रहण गर्नेले नियन्त्रण गर्न सक्नुपर्छ। अन्यथा यस प्रकारको मिटिङ निरर्थक हुनेछ। यो मिटिङ निरर्थक भयो भने के हुन्छ? तपाईंको अध्यक्षतामा बसेको बैठक त खत्तम भयो भनेर बाहिर हल्ला फैलिन्छ, होइन? तसर्थ प्लिज, मैले यसलाई तपाईंलाई सुझावका रूपमा दिएँ। अर्को पटकको बैठक हुँदा नियन्त्रण घट्न नपाओस्, मन्त्रीज्यू।'
यति भनेर मेयर महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफ्नो धारणा अघि बढाए।
फिनिस कम्पनी 'नेपवेस्ट' र नेपाल सरकारबीच सन् २०११ मा भएको सम्झौता अहिलेसम्म कायम रहेकाले नै फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन नसकेको उनको भनाइ छ।
'कीर्तिपुरका मेयरसाबले जसरी जापानको कुरा सुनाउनुभयो, मलाई पनि जापानले ७ अर्ब रूपैयाँको फोहोर प्रशोधन प्रणाली दिन्छु भनेर भ्रमणमा लिएर गएको थियो। त्यहाँ पुग्दा उनीहरूले नेपवेस्टसँग नेपाल सरकारको सम्झौताबारे थाहा पाएछन्। त्यसपछि त्यहाँका वातावरण राज्यमन्त्रीले नेपवेस्टसँगको सम्झौता कायम रहेसम्म हामी तपाईंहरूलाई सहयोग दिन सक्दैनौं भनेर ५० पटक टाउको झुकाएर सरी भने,' मेयर महर्जनले सुनाए।
त्यसपछि यसबारे पटक पटक छलफल हुँदा पनि समस्या समाधान नभएको उनले बताए।
'नेपवेस्टसँगको जुन सम्झौता छ, त्यो कि रद्द हुनुपर्यो, कि उनीहरूले सम्झौता अनुसार काम गर्नुपर्यो,' उनले भने, 'तर अहिलेसम्म कुनै पनि सरकारले यसलाई रद्द गर्न सकेको छैन र 'ओके, यु डु दिस जब' भनेर भन्न पनि सकेको छैन।'
उक्त सम्झौता अनुसार नेपवेस्टले काठमाडौं उपत्यकाको फोहोर घर घरबाट संकलन गर्ने, स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने र त्यसबाट कम्पोस्ट मल, ग्यास तथा बिजुली उत्पादन गरी बाँकी २० प्रतिशत मात्र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने भनिएको छ।
'नेपवेस्टले यसका लागि डिपिआर गरेर पेस गरिसकेको छ। पहिलो चरणको काम सुरू पनि गरिसकेको थियो। तर दोस्रो चरणमा प्रवेश गर्न पाएन। त्यसमा जुन किसिमका कानुनी समस्या निस्किए, ती समाधान भएनन्,' मेयर महर्जनले भने, 'त्यसैले माननीय मन्त्रीज्यू, यु डु योर लेभल बेस्ट इन अर्डर टु सल्भ दिस प्रब्लम। यो समाधान हुनेबित्तिकै हामी त नाच्छौं! तपाईंलाई हामी धेरै-धेरै धन्यवाद ज्ञापन गर्छौं।'
उनले अगाडि भने, 'यो काम नेपाल सरकारले गर्नैपर्छ। यो काम भएन भने हुँदैन। म काठमाडौं भ्याली मेयर फोरमको अध्यक्षको हैसियतले जब जब नेपालमा प्रधानमन्त्री चेन्ज हुन्छ, सबैलाई भन्ने गर्छु, तर कसैले पनि गरेनन्। यो पटक प्रधानमन्त्रीलाई भन्ने मौका पाएको छैन।'
थर्ड पोल 
