इरानसँग जारी लडाइँका बीच अमेरिकी नौसेना सचिव फेलानले दिए राजीनामा

इरानसँग जारी लडाइँका बीच अमेरिकी नौसेना सचिव फेलानले दिए राजीनामा


काठमाडौं । अमेरिकी नौसेना सचिव जोन सी. फेलानले तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिएका छन्। पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले बुधबार सामाजिक सञ्जालमार्फत यस आकस्मिक निर्णयको जानकारी दिएका हुन्।

प्रवक्ता पार्नेलले फेलानको राजीनामाको कुनै स्पष्ट कारण खुलाएका छैनन्। उनको बहिर्गमनपछि अब नौसेना उपसचिव हंग काओले निमित्त सचिवको रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।

यो राजीनामा यस्तो समयमा आएको छ जब अमेरिकी नौसेनाले इरानसँगको युद्धविरामको बीचमा ‘स्ट्रेट अफ हर्मुज’ नजिकैका इरानी बन्दरगाहहरूमा नाकाबन्दी गरिरहेको छ। नौसेना सचिव एक नागरिक पद हो, जसले नौसेना विभागको नीति, प्रशासन, बजेट र समग्र तयारीको प्रमुख जिम्मेवारी बोकेको हुन्छ।

रक्षा सचिव पीट्स हेगसेथले नेतृत्व सम्हालेदेखि पेन्टागनमा ठूला फेरबदलहरू भइरहेका छन्। यसअघि अप्रिलको सुरुमा इरान–अमेरिका युद्धकै बीच उनले अमेरिकी सेनाका चीफ अफ स्टाफ जनरल रान्डी जर्ज र अन्य दुई जर्नेललाई बर्खास्त गरेका थिए।