कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो
नेपाली कांग्रेसले खुलामञ्चमा दुबो रोपेको छ।
आइतबार बिहान कांग्रेसको काठमाडौं महानगर समितिको आयोजनामा नेता कार्यकर्ताहरू सहभागी भई खुलामञ्चमा दुबो रोपेको हो।
दुबो रोप्ने कार्यक्रममा कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुनेछन्।
असोजमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनका क्रममा दुबोमा क्षति पुगेपछि नयाँ दुबो रोपिएको हो।
क्षति पुगेका केही स्थानमा नयाँ दुबो रोप्ने तथा त्यसको संरक्षण र हुर्काउने व्यवस्था समेत कांग्रेसले गर्नेछ।
यसका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्टसबीच यसअघि नै सम्झौता भएको थियो।
सम्झौतामा कांग्रेसका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र इभेन्टसका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार दुबो रोप्ने, स्याहार गर्ने र हुर्काउने काम डेढ महिनाभित्र सम्पन्न गरिनेछ। यसका लागि लाग्ने खर्च नेपाली कांग्रेसले नै व्यहोर्नेछ।



थर्ड पोल 