कति प्रभावकारी होला ? दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास

 कति प्रभावकारी होला ? दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास

काठमाडौं । अमेरिका–इरानयुद्ध र त्यसबाट सिर्जिन इन्धन संकटको अवस्थामा सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।हप्ताको छ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर अवधि भने लम्ब्याउने रणनीतिका साथ सरकारले सोमबारदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन र सार्वजनिक बिदाको घोषणा गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थाबाहेक अरुका हकमा उक्त कार्यालय समय लागू हुनेछ । उनले भने, ‘शैक्षिक संस्था बाहेक कार्यालय समय बिहान ९ देखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ ।’

नेपालमा सार्वजनिक र सेवा क्षेत्रमा सातामा ४० घण्टासम्म काममा लगाउने अभ्यास चलिरहेको छ । पहिले दैनिक ७ घण्टा र शुक्रबार ५ घण्टा गरी ४० घण्टा कार्यालय समय तोकिएको थियो । अब भने दैनिक ८ घण्टाका दरले पाँच दिन काम गरे हुने व्यवस्था गरिएको हो ।

सरकारले निर्णय गरेसँगै देशभरका न्यायालयहरुले सोमबारदेखि बिहान ९ बजे नै कार्यालय खोलेका छन् । सुरक्षा निकाय र त्यहाँबाट हुने औपचारिक कामकारबाहीको समयतालिका पनि अब बदलिनेछ । सेवामूलक निजी क्षेत्रले पनि समय तालिका परिवर्तन गर्नेछन् ।

तर, शैक्षिक निकायहरुको बारेमा भने स्पष्ट खाका आइसकेको छैन । अनौपचारिक प्रकृतिको श्रम खपत गर्ने क्षेत्रमा हुने समय व्यवस्थाको टुंगो लागिसकेको छैन । २०५६ सालयताका अभ्यास हेर्ने हो भने नेपालमा दुई दिन सार्वजनिक बिदा दिने घोषणा भएको यो तेस्रोपटक हो । यसअघिका दुई अभ्यास भने विभिन्न कारणले कार्यान्वयन हुन सकेनन् ।

२०४८ सालको प्रशासन सुधार आयोगले कर्मचारीहरुको कामको प्रभावकारिता बढाउन र ट्राफिक व्यवस्थापन गर्न सातामा पाँच दिन कार्यालय समय तोक्नुपर्ने सुझाव दिएको थियो । कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले २०५६ सालमा यो खालको अभ्यास गरेको थियो ।

१ साउन, २०५६ बाट सुरु भएको दुई दिन बिदाको अभ्यास काठमाडौं उपत्यकामा मात्रै लागू भएको थियो । त्यतिबेला दुई दिने बिदाको अवधारणा सेवा प्रवाह र सेवाग्राहीको सहजताका लागि कार्यान्वयन गरिएको थियो । त्यतिबेला करिब दुई वर्ष दुई दिने बिदाको अभ्यास कार्यान्वयन भयो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०७९ सालमा दोस्रोपटक दुई दिन बिदाको अभ्यास फेरि सुरु भयो । १ जेठ, २०७९ मा देउवा सरकारले बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।

व्यापार घाटा भएको र नेपालमा विदेशी मुद्राको सञ्चिति कम भएका बेला सुरु गरिएको त्यो अभ्यासको उद्देश्य इन्धनको खपत घटाउनु थियो । करिब एक महिनामै त्यतिबेलाको अभ्यास कार्यान्वयन हुन सकेन ।

अरु मुलुकहरुले दुई दिनको बिदालाई वर्षौंदेखि अंगिकार गरे पनि नेपालमा भने यसलाई संकट समाधानको उपायको रुपमा अवलम्बनको प्रयास गरेको देखिन्छ । इन्धन संकट, ट्राफिक जामको समस्या बढेमा मात्रै समाधानका लागि नेपालमा दुई दिने बिदाको अवधारणा कार्यान्वयनमा ल्याउने गरिएको छ ।

पर्यटन मन्त्रालयले २०७७ सालमा कोरोना महामारीपछि थलिएको अर्थतन्त्रलाई उकास्न र मुलुकको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न दुई दिन सरकारी बिदा दिनेबारे अध्ययन र गृहकार्य थालेको थियो । त्यतिबेला पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको नेतृत्वमा बनेको कार्यदलले अध्ययन गरेर प्रतिवेदन नै तयार पारेको थियो ।