चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले विज्ञप्ति जारी गर्दै गठबन्धनलाई कामय राख्ने निर्णय गरेको जानकारी गराएका छन्।
विज्ञप्तिमा उल्लेख छ, ‘गठबन्धन सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो।’
यस्तै बैठकले चुनावी तालमेलका लागि संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय समेत गरेको छ। दलगत वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल पनि गठन गर्ने भएको छ।
पाँच दलीय गठबन्धनको ‘मियो’को रुपमा चितवनको भरतपुर महानगरलाई लिइएको छ। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई कांग्रेसले सहयोग गरेर प्रचण्डकी छोरी रेनु दाहाल निर्वाचित भएकी थिइन्। तर, यसपालिको पनि प्रचण्डले चितवन कांग्रेसले भनेर केही नहुने भन्दै केन्द्रबाटै निर्णय गर्ने बताएका थिए। कांग्रेसले भरतपुर महानगर नछाड्ने अडान लिएका छन्।

