ठमेलबाट पक्राउ परेका युगान्डाका २० महिला डिपोर्ट गरिने
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोकबाट पक्राउ परेका युगान्डाका महिलाहरूलाई नेपालबाट डिपोर्ट (निष्कासन) गरिने भएको छ । युगान्डाबाट आएका २० जना महिलालाई प्रहरीले चैत ११ मा ठमेलबाट पक्राउ गरेर अनुसन्धान गरेको थियो । महिलाहरूले ठमेलमा पुरुषहरूलाई अनावश्यक बाटो छेकेर अश्लील कामको लागि मोलमोलाई गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
यौन क्रियाकलापमा संलग्न महिलाहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयले ५ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अभद्र व्यवहार मुद्दामा कारबाही गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन ऐन अन्तर्गत कारबाही गर्न अध्यागमन विभागमा पठाएको थियो । अध्यागमन विभागले उनीहरूलाई देश निकाला गर्ने निर्णय गरेको हो ।
डिपोर्ट गर्ने निर्णयपछि पक्राउ परेका सबै महिला आफ्नो देश फर्किएका छन् । उनीहरूलाई अध्यागमनको निर्णय अनुसार नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको एसपी भट्टराईले बताए ।गिरोहले ल्याएर उनीहरूलाई ठमेलमा राखेर यौन धन्दामा लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
थर्ड पोल 