गठबन्धनविरुद्ध वागी बनेकालाई तुरुन्तै उम्मेदवारी फिर्ता लिन देउवाको निर्देशन

गठबन्धनविरुद्ध वागी बनेकालाई तुरुन्तै उम्मेदवारी फिर्ता लिन देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन्।बिहीवार विज्ञप्ति जारी गरी देउवाले लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न पाँचदलीय गठबन्धन बनेको भन्दै यसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। 

‘पाँच दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता हो’, उनले भनेका छन्। विज्ञप्तिमा उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन असन्तुष्ट नेता-कार्यकर्तालाई आग्रह गरेका छन्।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु’ उनले भनेका छन्, ‘तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।’