धादिङ दुर्घटना अपडेटः ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो ।
तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् डीएसपी प्रकाश दाहालले जानकारी दिए ।बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार जारी छ ।
गएराति नै काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै १९ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ९ जनालाई पठाइएको थियो ।स्थानीय अस्पतालमा उपचारका लागि लगिएका थप ६ जनालाई पनि पछि काठमाडौं नै रिफर गरिएको छ ।प्रहरीले दुर्घटनामा संलग्न दुई वटा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।
थर्ड पोल 