प्रधानमन्त्री कार्कीले भनिन्– जेनजीहरूले दलसँग संवाद गर्न रूचाएकै थिएनन्, अब दल र जेनजी बसौं

प्रधानमन्त्री कार्कीले भनिन्– जेनजीहरूले दलसँग संवाद गर्न रूचाएकै थिएनन्, अब दल र जेनजी बसौं

प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार प्रमुख बनेको एक महिनाभन्दा बढी समयपछि मंगलबार राजनीतिक दलहरूसँग पहिलो संवाद गरेकी छन्।

उनले बालुवाटारमा डाकेको बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले संवाद सुरू गर्न किन ढिलाइ भयो भन्ने प्रश्न सोधेका थिए।

'भदौ २३ र २४ को आन्दोलनले राजनीतिक दलहरूमाथि विजय हासिल गरेजस्तो व्यवहार यो सरकारले देखाउँदैछ। अन्तरिम सरकारको म्यान्डेट नै चुनाव हो भने दलहरूसँग संवाद गर्न किन यति ढिला?' बैठकमा नेकपा एमाले तर्फबाट राखेको धारणाबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने।

जबाफमा कार्कीले भनिन्, 'आन्दोलनका घाइतेहरूको उपचार, सहिदको शव व्यवस्थापन र परिवारलाई राहत, आन्दोलनकारी पक्षको आवाज सुनुवाइ गर्नुपर्ने भयो। त्यसले दलहरूसँग संवाद सुरू गर्न समय लाग्यो।'

सुरूआती चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरूचाएको पनि उनले बताइन्।

त्यसबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट जेन-जी युवा र राजनीतिक दलहरू दुवै पक्षसँग कुराकानी गरेर संवादको ढोका खोलिदिने काम भएको प्रधानमन्त्री कार्कीले बताइन्।