प्रधानमन्त्री दाहालले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्याश, सवारी चाप व्यवस्थित हुने विश्वास 

 प्रधानमन्त्री दाहालले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्याश, सवारी चाप व्यवस्थित हुने विश्वास 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।उनले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे । 

सोमबार पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’ शिलान्याश गर्दै पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने विस्वास व्यक्त गरे । 

यस्तै, दाहालले पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन् । उनले देशमा भएको विकासको तुलनात्मक अध्ययन नै नगरी केही विकास नै नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् ।

‘विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,’ प्रधानमन्त्रीले थप भनेका छन्, ‘नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।’

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे ।