पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपा सभापति लामिछानेको अभिव्यक्तिलाई सकारात्मक र परिपक्व ठहराए

पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपा सभापति लामिछानेको अभिव्यक्तिलाई सकारात्मक र परिपक्व ठहराए

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको अभिव्यक्तिप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सांसदहरूको अभिमुखीकरणका क्रममा लामिछानेले प्रस्तुत गरेका विचारलाई सकारात्मक र परिपक्व रहेको बताएका छन्। उनका अनुसार रास्वपाले हालैको आमनिर्वाचनमा प्राप्त गरेको जनमत केवल एउटा पार्टीको सफलता मात्र नभई समग्र नेपाली राजनीतिमा पुनर्संरचना र पुस्तान्तरणको संकेत हो। भट्टराईले यस्तो परिणामपछि रास्वपालाई आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको उल्लेख गरेका छन्। लामिछानेको अभिव्यक्तिमा विनम्रता झल्किएको भन्दै उनले नेपाली उखान उद्धृत गर्दै भनेका छन्, ‘फलेको हाँगो निहुरिन्छ भन्ने भावना देखिएको छ, यो निरन्तर रहोस्।’ उनले नयाँ शक्ति उदाउँदा पुराना दलप्रति प्रतिक्रियात्मक हुनु भन्दा उनीहरूको ऐतिहासिक योगदानको सम्मान गर्दै उपलब्धिहरूको संरक्षणसँगै नयाँ भविष्य निर्माणतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन्। रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र राजनीतिक संस्कारबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। सोही क्रममा लामिछानेले व्यक्त गरेका विचारप्रति भट्टराईले शुभेच्छासहित समर्थन जनाएका हुन्।