गगन र विश्वप्रकाश विभाजित, चुनावी गठबन्धनबारे फरक मत
स्थानीय तह निर्वाचनको तयारी र सत्तारूढ गठबन्धनसँग तालेमलबारे निर्णय लिन बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा २ महामन्त्रीले चुनावी गठबन्धनबारे विभाजित भएका छन् । महामन्त्री गगन थापाले आफू गठबन्धनका पक्षमा नरहेको र यसले कांग्रेसलाई फाइदा नगर्ने बताए। तर अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आवश्यकताका आधारमा गठबन्धन गरेर जान सकिने बताउँछन्।
आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले नयाँ मतदातालाई रूखबाहेक अन्य चिन्हमा भोट हाल्न लगाउँदा अर्को चुनावमा ती मतदाताले रूखमै भोट हाल्छन् कि हाल्दैनन् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका थिए।
कांग्रेसमा चुनावी गठबन्धनबारे स्पष्ट २ धार देखिएका छन् । सभापति देउवा पक्षका नेताहरू गठबन्धन गरेर जानुपर्ने पक्षमा छन् भने शेखर कोइराला पक्षका नेताहरू कांग्रेस एक्लै चुनावमा सहभागी हुनुपर्ने पक्षमा छन् ।
मंगलवार दिउँसो ३ बजेसम्मका लागि केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । मंगलवार बस्ने बैठकले चुनावी तालमेल गर्ने वा नगर्नेबारे निर्णय गर्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
