बेचैनीमै बित्यो रास्वपाका तिन वर्ष, अन्योलतामा कार्यकर्ता, नेतृत्वमा छटपटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणविरुद्ध अभियान सञ्चालन गरेर तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । बिहीबार बिहान बसेको सचिवालय बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
रास्वपा ले पहिलो र दोस्रो वार्षिकोत्सव धुमधामले मनायो । यसपल्ट जावलाखेलस्थित स्टाफ कलेजमा नीति मन्थन गरेर (७ असारमा) तेस्रो वार्षिकोत्सव मनाउने आन्तरिक तयारी गरेको थियो । तर, त्यसलाई परिमार्जित गर्दै भिजिट भिसा प्रकरणलाई मुद्दा बनाएर देशव्यापी अभियान सञ्चालन गरेर मनाउने पार्टीको सचिवालय बैठकले निर्णय गरेको छ ।
तीन वर्षअघि पार्टी स्थापना घोषणा हुँदा रास्वपाको ऊर्जा अर्कै थियो । देशभरिबाट काठमाडौंमा आएका कार्यकर्ता र शुभेच्छुकहरू नयाँ यात्राका लागि तयार हुँदै थिए । तीन वर्षपछिको ऊर्जा उस्तै छैन, यद्यपि रास्वपा हरेक हप्ता राष्ट्रिय राजनीतिमा केही न केही मुद्दा भने उठाउन खोजिरहेको देखिन्छ । विवादका शृंखला, अलमल र द्विविधाकै बीच रास्वपाले तय गर्दै गरेको राजनीति अझै पनि आम चर्चाको विषय भने बनिरहेकै छ ।
त्यस्तै अहिलेसम्मको प्रवृत्ति हेर्दा आफैंले गरेको निर्णय कार्यान्वयन गर्न नसक्नु रास्वपाको चिनारी बनेको छ । उसले २१ वटा विकास आयोजना निर्माणका लागि दबाब दिने भनेर अभियान थालेको थियो ।
नारायणगढ–बुटबल सडक खण्डमा खबरदारी यात्रा गरिसकेको पनि थियो । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रास्वपा सहभागी भयो । सरकारमा गएसँगै दबाब यात्रा अलपत्र पर्यो । गत असोजमा सम्पन्न पहिलो राष्ट्रिय भेलाले गरेको अर्को निर्णय थियो– जनयात्रा । २३ चैतबाट शुरू गर्ने भनिएको जनयात्रा रवि लामिछाने थुनामा पठाइएसँगै प्रभावित बन्यो ।
त्यसैगरी पार्टी कामलाई सहज बनाउन भनेर सभापति लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याउन रास्वपाका नेताहरू लागिपरेका छन् । २४ जेठमा सार्वजनिक कार्यक्रम मार्फत नै उपसभापति डा.स्वर्णिम वाग्लेले लामिछानेको जेल सरुवाबारे जानकारी दिएका थिए । तर राजनीतिक दबाबका कारण जेल सरुवा हुन नसकेको पनि रास्वपाका नेताहरूले बताएका छन् ।
पार्टी चलायमान हुन नसकेको र संगठन निर्माणले गति नलिएको सभापति लामिछानेले गत असोजमा भएको राष्ट्रिय भेलाबाटै स्वीकारेका थिए । सांगठनिक स्वरूप र ढाँचामा अन्योल, पार्टी विस्तारको सुस्त गति, जिम्मेवारी अभाव लगायत कमजोरी भएको राजनीतिक प्रतिवेदनमा त्यसबेला उल्लेख गरेका थिए । पार्टी दुई वर्षमा अलमलमा रहेको लामिछानेको निचोड थियो ।
राष्ट्रिय भेला सकिएको महिना दिनपछि (२ कात्तिकमा) सभापति लामिछाने पक्राउ परेपछि रास्वपामा अन्योल, निराशा छायो । संगठनमा देखिएको शिथिलता हटाउन धरौटीमा छुटेका रविले पार्टी संरचनामा व्यापक परिवर्तन गर्ने बताएका थिए ।नेताहरूको जिम्मेवारी व्यापक परिवर्तन गर्ने र त्यसका लागि तयार रहन उनले पार्टी पङ्तिमा आग्रह पनि गरेका थिए । लामिछानेले त्यसबेला गर्न चाहेको ‘संरचनामा व्यापक हेरफेर’ को संकेत अहिलेसम्म नेताहरूले भेउ पाउन सकेका छैनन् ।
त्यस्तै पूर्वनिर्धारित तालिका अनुसार रास्वपा चलेको हुन्थ्यो भने गत वैशाखमै प्रतिनिधिहरूले आफ्नो नेतृत्व चयन गरिसकेका हुन्थे । तर रास्वपाले महाधिवेशनलाई ९ महिना पछि धकेल्ने निर्णय गरेको छ । सभापति रवि लामिछाने थुनामा पठाइएपछि महाधिवेशन तालिका प्रभावित हुन पुगेको हो ।



थर्ड पोल 