बीपी राजमार्गको खुर्कोट–भकुन्डेबेंसी सडकः साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
काठमाडौं । काभ्रे जिल्ला प्रशासन कार्यालयले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकेको छ।मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन, काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
‘आज मिति २०८३ वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा बेलुकी ५ बजेबाट बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने,’ काभ्रे जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
त्यस्तै उक्त अवधिपश्चात् पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको प्रजिअ अधिकारीले बताए।
निर्माणाधीन बिपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशीखोलासँग जोडिएको छ। २०८१ असोज १०–१२ को वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएको थियो। हाल अस्थायी डाइभर्सनबाट सवारी आवागमन चलाइएको छ। स्थायी पुनर्निर्माणको काम पनि भइरहेको छ।अहिले पनि थोरी वर्षा हुँदा पनि रोशीमा भेलबाढी आएर सवारी आवागमन प्रभावित हुने गरेको छ।
सोमबार रोशी गाउँपालिका–७, घुमाउने चारसयबेंसी स्थित रोशीखोलामा आएको भेल बाढीमा पाँचवटा सवारी फसेका थिए।‘फस्न पुगेका सवारी साधन यात्रुहरूलाई रात्रिको समयमा उद्धार गर्न ज्यादै कठिनाइ हुन गइ ८९ जनाको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना भएको घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन समेतलाई मध्यनजर गरी आज वैशाख २२ गते बिहान काभ्रेपलाञ्चोक जिल्ला र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको आजको बैठकबाट बिपी राजमार्गमा सवारी व्यवस्थापन सम्बन्धमा निर्णय भएको हो,’ सूचनामा उल्लेख छ।
थर्ड पोल 