भुकम्प पिडित बालबालिकाः जिम्मा लिने प्रक्रियाहरु पुरा गरेर आश्रममा ल्याएका छौं : बालयोगेश्वर महाराज
काठमाडौं । जाजरकोटका भुकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् । श्री बालयोगेश्वर विजयमुर्ती महाराजले उनीहरूलाइ जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको व्यवस्था मिलाएका हुन् । बालबालिकालाई ललितपुस्थित बाडेगाउँमा रहेको मामाघर अनाथालय सपोर्ट एन्ड केयर सेन्टरमा राखिएको छ । उक्त संस्थाले अनाथ बालबालिकालाई निशुल्क गाँसबास ,शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
सो आश्रममा अहिले २० जना बालक र १० जना बालिका गरि ३० जनालाई जाजरकोटबाट ल्याईएको हो। ती मध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका छन् । बालबालिकालाई निशुल्क गाँसबास , शिक्षा तथा स्वास्थ्य लगायत सम्पूर्ण जिम्मा आश्रमले लिएको छ ।
उनीहरुलाई ललितपुर ल्याउने व्यवस्था बालयोगेश्वर विजयमूर्ति महाराजले मिलाएका हुन् । महाराजले चार जनाको समूहमा करिब १० दिनको कठिन यात्रापछि प्रक्रिया पुरा गर्दै ३० जना बालबालिकाको लालनपालनको जिम्मा अनाथालयलाई लगाएको जानकारी दिएका छन् ।
उनले भने, ‘अभिभावक गुमाएका बालबालिकाहरुका बारेमा हामीले समाचारबाट थाहा पायौं । भोजन, बासको अभावबाट धेरैले अकालमा ज्यान गुमाउनुप¥यो भन्ने थाहा पाउँदा हामीलाई असहनीय भयो । चार जनाको समूहमा ८–१० दिनको कठिन यात्रापश्चात सबैको साथ सहयोग र समन्वयमार्फत ३० जना बालबालिकाहरु जिम्मा लिने प्रक्रियाहरु पुरा गरेर हामीले ल्याएका छौं ।’
आश्रममा कुशे गाउँपालिकाको सिफारिसमा १७ र बारेकोट गाउँपालिकाको सिफारिसमा १३ जना बालबालिका ल्याइएको हो । यसमा २० बालक र १० जना बालिका छन् । यिनमा अधिकांश बालबालिका दलित समुदायका छन् ।
गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भइ आएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने ३७५ जना घाइते भएका थिए । घटनामा जाजरकोट र रुकुम पश्चिममा घरहरुमा क्षति पुगेको थियो । भूकम्पले घरबारविहीन भएका परिवारमा ज्वरो, झाडापखाला र चिसोले थप ३४ जनाको मृत्यु भएको थियो ।
थर्ड पोल 